काठमाडौँ,१ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ अगाडि बढाउने भएको हो ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलास आइतबार यो मुद्दा पहिलो नम्बरमै पेसी तोकिएको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्इक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन अदालतमा पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने भएका छन् ।
मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।
यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि रविविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ ।








