काठमाडौं,१ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगबाट उन्मुक्ति दिने गरी भएको मुद्दा संशोधनको निर्णयविरुद्धको रिट आज (चैत १) सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।
यसअघि न्यायाधीश सपना प्रधान मल्ल समेतको इजलासमा परेको मुद्दामा पूर्ण सुनुवाइका निम्ति आजका लागि पेसी तोकिएको थियो ।
न्यायाधीशद्वयमध्ये पोखरेलले लामिछाने पहिलोपटक सांसद भएपछि उनीविरुद्धको नागरिकता र राहदानी दुरुपयोग मुद्दामा पक्षबाट वकालत गरेका थिए ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछाने सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगबाट उन्मुक्ति हुने गरी सिफारिस गरेकी थिइन् । उनको निर्णय कार्यान्वयन हुनुअगावै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अभियन्ता युवराज सफल र अधिवक्ता अभाव रेग्मी समेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोही रिटका आधारमा रुपन्देही र कास्की जिल्ला अदालतले उक्त निर्णय स्वीकार गरिसकेका छैनन् ।








