काठमाडौं,१ चैत ।
मध्यपूर्व क्षेत्रमा तनावका बाबजुद दोहा–काठमाडौं उडान पुनः सञ्चालन हुने भएको छ ।

बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट काठमाडौंका लागि पुनः उडान हुने भएको हो । कतार एयरवेजले सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्चमा दोहा–काठमाडौं तथा १७ र १८ मार्चमा काठमाडौं–दोहा उडान हुनेछन् ।

दोहा हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुहरूका लागि यो उडान उपयोगी हुने अपेक्षा गरिएको छ । मध्यपूर्वमा काम गर्ने नेपाली कामदार, नेपाल फर्कने यात्रु तथा विदेश जाने विद्यार्थीहरूका लागि दोहा–काठमाडौं हवाई सम्पर्क महत्वपूर्ण मानिन्छ ।

हवाई सुरक्षा अवस्थाअनुसार उडान तालिका परिवर्तन हुन सक्ने भएकाले यात्रुहरूलाई आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्सीमार्फत नियमित जानकारी लिन एयरलाइन्सले आग्रह गरेको छ ।