काठमाडौँ,२८ फागुन ।
खाना पकाउने ग्यास अबदेखि आधा सिलिन्डर मात्रै पाइने भएको छ ।
बिहीबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए ।
उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो ।
आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले बताए ।
भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे ।
यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ ।
पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ ।
निगमले इन्डियन आयल निगम (आईओसी) सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ ।
तर भारतबाट मागअनुसारको ग्यास आउन छाडेको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ ।
सरकारले यसअघि २०७२ मा भारतले लगाएको नाकाबन्दीका बेला पनि आधा सिलिन्डर ग्यास वितरण गरेको थियो ।








