नवलपरासी,२२ फागुन ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा ना ५ ख ९००६ नम्बरको ट्रकले ना २८ प ४२६० नम्बरको मोटरसाइकललाई आज साँझ ठक्कर दिँदा माेटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दुर्घटनामा करिब ३५ वर्षीय युवकको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उनले बताए ।
दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको परिचय नखुलेको खड्काले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रक चालक भक्तपुरको भक्तपुर नगरपालिका–७ का ४२ वर्षीय आशकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए ।








