बुटवल,१७ फाल्गुन ।
चुनावको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस रूपन्देही–२ चुनाव प्रचारप्रसार तथा निर्वाचन परिचालन समितिले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

चुनाव प्रचारप्रसारकाे समय दुई दिन मात्रै बाँकी रहदा रूपन्देही-२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रीता सेन वलीसहितकाे टोलीले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् ।

घरदैलो कार्यक्रमको १२ औं दिन आज आइतबार बुटवलको वडा नं ११ काे वुद्वनगर पुग्दा मतदाता तथा पार्टीका नेता कार्यकर्ताहरूले स्वागत गर्नुका साथै जितको शुभकामना दिएका थिए ।

चुनावको मिति नजिकिँदै गर्दा मतदाताले देखाएको सद्भाव,जितका लागि दिएको शुभकामना,सुझाव र सल्लाहले आफुलाई थप उत्साहित बनाएको कांग्रेस उम्मेदवार पाैडेलले बताए ।

घरदैलोकै क्रममा संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताए ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका सानोतिनो समस्या देखि लिएर दीर्घकालीन समस्या समेत खुलेर राखेका थिए ।
उनले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गरी कार्यान्वयन गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए ।

मतदाताको जिज्ञासामा उम्मेदवार पौडेलले “विकास कागजमा नभएर, व्यवहारमा देखिनुपर्छ” भन्दै आफु परिणाममुखी विकासको पक्षमा रहेको र साेही अनुसार लाग्ने प्रतिबद्धता जनाए ।

नेकपा एमालेकाे पकड क्षेत्रकाे रूपमा चिनिएको बुटवलको वडा नं ११ मा कांग्रेसकाे प्रचारप्रसार टोलीलाई स्थानीयले देखाएको सद्भावले उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता उत्साहित देखिन्थे ।

त्यस क्रममा नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको नेपाली कांग्रेस रूपन्देही-२ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रजापाल गिरीले जानकारी दिए ।