बुटवल,१६ फागुन ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा बुटवलमा बृहत् तरुण भेला सम्पन्न भएको छ ।

चुनाव नजिकिँदै गर्दा आयोजित भेलाले संगठनात्मक एकता, युवा सक्रियता र चुनावी रणनीतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको थियो ।
कार्यक्रममा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राष्ट्रियता, संविधान र प्रजातन्त्रमाथि चुनौती बढिरहेको उल्लेख गर्दै नेपाली कांग्रेसको रक्षा गर्नु सबैको पहिलो दायित्व भएको बताए । उनले नेपाल तरुण दल शान्तिप्रिय संगठन भएको स्पष्ट पार्दै भने, “तरुण दल हिंसा गर्दैन, आतंक मच्चाउँदैन तर पार्टी र तरुण साथीहरूको सुरक्षाका लागि आवश्यक पर्दा एकजुट भएर उभिन्छ । इतिहास साक्षी छ हरेक संघर्षमा तरुण सहभागी हुँदा विजय सुनिश्चित भएको छ।”
उनले आसन्न निर्वाचनलाई लोकतन्त्रको रक्षा गर्ने विशेष अवसरका रूपमा व्याख्या गर्दै रुख चिन्हमा मतदान गर्न सबैलाई अपिल गरे । “हाम्रो संकल्प स्पष्ट छ—नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनै पर्छ। हरेक तरुण आफैँ उम्मेदवार सरह हो, त्यसैले जित सुनिश्चित गर्ने जिम्मेवारी पनि आफ्नै काँधमा लिनुपर्छ ।
भेलामा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले युवाशक्ति परिवर्तनको आधार भएको उल्लेख गर्दै सदैव युवाको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए । उनले अहिले पार्टी युवा नेतृत्वतर्फ अग्रसर भइरहेका बेला यो निर्वाचनलाई विशेष पर्वका रूपमा लिन आग्रह गरे । “युवा केवल मतदाता होइनन्, अब निर्णायक शक्ति हुन्। संगठन सुदृढ बनाउन र विजयी बनाउन तरुणको भूमिका निर्णायक रहन्छ,” उनले भने ।
सो भेलामा कांग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्की तथा समानुपातिक उम्मेदवार रिता सेन ओली,लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकाल, जिल्ला सभापति रामकृष्ण खाँण, क्षेत्रीय सभापति प्रजापाल गिरी,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय लगायतले मन्तव्य राख्दै संगठनको एकता, अनुशासन र सक्रियतामार्फत निर्वाचनमा विजय हासिल गर्न आह्वान गरे ।
नेपाल तरुण दल रूपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हसन्त लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम तरुण दल बुटवल उपमहानगरपालिकाका नगर सभापति सुजन पुनकाे सञ्चालनमा सम्पन्न भएको थियो । भेलाले चुनावी माहोललाई थप ऊर्जा दिँदै युवाशक्तिलाई संगठित र सक्रिय बनाउने स्पष्ट सन्देश दिएको छ ।भेलामा क्षेत्र न २ का करिब २ हजार तरुणहरुको सहभागिता रहेको थियो ।








