काठमाडौ,२५ माघ ।
ट्वान्टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्धको खेलमा नेपाली टोलीले पहिला फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान हृयारी ब्रुकले टस जितेपछि मुम्बईको वानखेडे क्रिकेट रंगशालामा पहिला ब्याटिङ गर्ने भएको हो ।
रोहित पौडेलको कप्तानीमा नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने खेलिरहेका छन् ।
त्यस्तै इंग्ल्यान्डबाट ब्रुकसहित फिल सल्ट, जोस बटलर, ज्याकोब बेथल, टम बान्टन, साम करन, विल ज्याक्स, लिएम डावसन, जोफ्रा आर्चर, आदिल रशिद र लुक उड खेलिरहेका छन् ।
अघिल्लो दिन वानखेडेको यही पिचमा भारतले अर्को एसोसिएट राष्ट्र अमेरिकालाई पराजित गर्न निकै संघर्ष गर्नुपरेको थियो । कप्तान सूर्यकुमार यादवले ४९ बलमा अविजित ८४ रन बनाएपछि मात्र भारतले अमेरिकासँगको खेल २९ रनले जित्न सकेको थियो । त्यही पिचमा इंग्ल्यान्ड र नेपाल खेल्न लागेका हुन् ।
चेन्नईमा विश्वकपको दुई आधिकारिक अभ्यास खेलमा क्रमशः यूएई र क्यानडालाई पराजित गरी नेपाली टोली शुक्रबार चेन्नई आएको थियो । नेपाल र इंग्ल्यान्ड पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले यसअघि २०१४ को विश्वकपमा बंगलादेश तथा २०२४ मा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश गरी चार पटक टेस्ट राष्ट्रको सामना गरेको थियो । श्रीलंकासँगको खेल वर्षाका कारण रद्ध भएको थियो भने अन्य सबै खेलमा पराजित भएको थियो ।
नेपालले ओमानमा अक्टोबरमा भएको एसिया र एसिया प्यासिफिक क्षेत्रको सबै खेल जितेर विश्वकपलाई छनोट भएको हो भने इंग्ल्यान्डले पछिल्लो वर्षमा हृयारी ब्रुकको कप्तानीमा उत्कृष्ट प्रर्दशन गर्दै आएको छ ।
नेपालको समर्थनमा ठूलो संख्यामा दर्शकहरु रंगशालामा आएका छन् ।








