बुटवल,२४ माघ ।
बुटवल स्थित सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको छ । हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज बुटवलले नेपालमा लोकप्रिय खाद्य परिकारको रुपमा रहेको मोमोको प्रवद्र्धन गर्ने उद्देश्यले ‘भ्यालेन्टाइन डे’ को अवसरमा मोमोे महोत्सव गर्न लागेको हो ।

सिद्धार्थ कटेज बुटवलले शनिबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि फागुन २ गतेसम्म तीन दिन मोमो महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएकाे हो । सिद्धार्थ हस्पिटालिटीले यसअघि नेपालगञ्ज र धनगढीमा मोमो महोत्सव आयोजना गरिसकेको बताउँदै उनले हस्पिटालिटीको पाँचौँ संस्करण तथा सिद्धार्थ कटेज बुटवलमा पहिलोपटक मोमो महोत्सव आयोजना हुन लागेको सञ्चालक तथा क्षेत्रीय प्रवन्धक महेन्द्र न्यौपानेले जानकारी दिए ।

महोत्सवमा २ सय भन्दा बढी प्रकारका मोमो परिकारहरूको स्वाद लिन पाइने सिद्धार्थ कटेजका कुलिनरी डाइरेक्टर एलबी कौशलले जानकारी दिए । उनका अनुसार महोत्सवमा लुम्बिनी प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि राखिने छ । महोत्सवमा ग्राहले ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको मोमोको स्वाद दिन सक्नेछन् ।

स्थानीय पहिचान झल्काउने परिकार, परम्परागत स्वाद र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले राखिने यी स्टलहरू महोत्सवका थप आकर्षण हुने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने मोमो महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ भने तेस्रो तथा अन्तिम दिन विशेष सांगीतिक कार्यक्रम, लाइभ ब्याण्ड तथा ‘मोमो मेकिङ एन्ड कुकिङ कम्पिटिसन’ र ‘मोमो इटिङ कम्पिटिसन’ आयोजना गरिने सिद्धार्थ कटेजका अपरेसन म्यानेजर पदम न्यौपानेले बताए ।

यो महोत्सवमा ३ हजार बढी ग्राहकले अबलोकन गर्ने तथा बिभिन्न मोमोका स्वाद लिने अनुमान गरिएको उनले बताए । सिद्धार्थ समूह २८ वर्षअघि कैलाली, टिकापुरबाट सुरु भएर देशव्यापी रुपमा हालसम्म होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।