बुटवल,२३ माघ ।
समयको माग अनुसार बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस नेताहरु दावी गरेका छन् । आसन्न प्रतिनीधि सभा निर्वाचनका सन्दर्भमा रुपन्देही क्षेत्र नं. २ अन्तर्गतका वडा प्रचार कार्यालयहरुको उद्घाटनका क्रममा नेताहरुले काँग्रेस मुलुकको मियो पार्टी भएको दावी गर्दै मुलुकलाई सहि दिशा र गति दिनका लागि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन् ।

रुपन्देही क्षेत्र नं. २ अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. ६ को प्रचार कार्यालय उद्घाटनका क्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले युग अनुसार बदलिएको काँग्रेसले देशको मुहार पनि बदल्ने दावी गरे । अहिले काँग्रेसले आम नेपालीले आशा र भरोसा गरेका पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अगाडि सारिएको बताउँदै उनले थापाको नेतृत्वमा बन्ने सरकारले मुलुकलाई सहि दिशा र गति दिने बताए । त्यसका लागि मुलुकभर नेपाली काँग्रेसका उम्मेद्वारलाई जिताउन पनि उनले आग्रह गरे ।

नेपाली काँग्रेसले रुपन्देही २ मा पार्टीका महासमिति सदस्य, समाजसेवी, उद्योगपती चुन्नप्रसाद शर्मा पौडेललाई उम्मेद्वार बनाएको बताउँदै उनको जितले यस क्षेत्रको भौतिक, सामाजिक, आर्थिक तथा औद्योगिक विकासमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा उम्मेद्वार पौडेलले आगामी निर्वाचन पार्टीको विश्वास, इतिहास र भविष्यको परीक्षा भएको औंल्याउँदै लामो समयपछि नेपाली काँग्रेसको पहिचान रुख चिन्हमा मतदान गर्न पाउनु गौरवको विषय भएको बताए । उम्मेद्वार पौडेलले नेपाली काँग्रेसमा अनुभवी र दिग्गज नेताका साथै उत्साही युवा तथा विद्यार्थीहरू टोल–टोलमा खटिरहेको बताए । लोकतन्त्र संसारकै सबैभन्दा लोकप्रिय शासन व्यवस्था भए पनि देशमा राजनीतिक अस्थिरता, युवा निराशा र जनविश्वास कमजोर हुँदै जानु चिन्ताको विषय भएको बताउँदै उनले भने–‘हिजोको अवस्थाभन्दा आज हामी कति बदलिएका छौँ, जनताको आशा कति बोकेका छौँ भन्ने प्रश्न आफैँलाई सोध्न आवश्यक छ ।’
उनले यस्ता यावत समस्याको समाधान खोज्न आफू राजनीतिमा आएको स्पष्ट पार्दै आफूले झुटा सपना नदेखाउने, सत्य बोल्ने, जिम्मेवारी लिने र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्य रोज्नुपर्ने, निराशा होइन आशा छर्नुपर्ने समय आएको उल्लेख गर्दै भोलीको नेपाल युवामैत्री, रोजगारमुखी र सुशासनयुक्त बनाउने नेपाली काँग्रेसको लक्ष्यमा आफू सारथी बन्ने विश्वास दिलाए । नेपाली काँग्रेसलाई बलियो बनाएर देशको भविष्य सुरक्षित गर्नका लागि सबैलाई एकतावद्ध भएर आम नेपाली जनताको विश्वास जितेको नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गरे ।

पार्टीका क्षेत्रीय सभापति, निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले आम नेपाली जनताले भरोसा गरेको नेपाली काँग्रेसले गर्विलो ईतिहास बोकेको र सुनौलो भविश्यको मार्गचित्र पनि कोरेको बताउँदै आम नेपालीले देखेको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गरे । अहिले नेपाली जनतामा नेपाली काँग्रेस प्रतिको आशा र भरोसा बढेको बताउँदै यो आशा र भरोसालाई डगमगाउन नदिईने उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ का सभापति ताराप्रसाद ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेताहरुले नेपाली काँग्रेसलाई विश्वास गरेर नेपाली काँग्रेसले अगाडि सारेका उम्मेद्वारलाई जिताउन रुख चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गरेका थिए ।

बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिका ६ र सैनामैना नगरपालिकाका ४ गरि २३ वटा वडा समेटिएको क्षेत्र नं. २ मा नेपाली काँग्रेसले १६ वटा वडामा निर्वाचन परिचालन वडा कार्यालय स्थापना गरिसकिएको क्षेत्रीय सचिव, निर्वाचन परिचालन मुल समितिका सदस्य सचिव विमलराज भट्टराईले जानकारी दिए । त्यसमध्ये शुक्रबार मात्रै बुटवल उपमहानगरपालिकाका १, ६ र १० तथा तिलोत्तमा नगरपालिकाको वडा नं.३ मा निर्वाचन परिचालन वडा कार्यालय उद्घाटन गरिएको सचिव भट्टराईले बताए ।