रौतहट,२२ माघ ।
एक बालिकालाई ठक्कर दिएर फरार भएका रास्वपा उम्मेदवारका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको इशनाथ नगरपालिका ४ मठियामा बालिकालाई ठक्क्कर दिएर फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा परोहा नगरपालिका–३ तेजापाकड घर भएका २७ वर्षीय शेख मुस्ताक रहेका छन्् । बालिकालाई ठक्कर दिएर फरार चालकको खोजतलास गर्दै जाँदा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्वर २ मा पर्ने इशनाथ नगरपालिका–४ मठिया गाउँ स्थित मस्जिद नजिकै आज करीब २ः३० बजेको समयमा बा१५च ४२४४ नम्बरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको गाडीले ठक्कर दिदा मोहम्मद सगिरको ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते अल्फालाई स्थानीयको दबावमा गाडीका चालक गौरको घण्टाघर स्थित रोडमा रहेका सिटी अस्पतालमा राखेर गाडी चालक फरार भएका थिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले घरदैलो कार्यक्रममा प्रयोग गर्दै आएको उक्त गाडी रहेको जानकारी दिँदै डीएसपी वस्यालले जनाएको छ ।
उनका अनुसार घटनाको समयमा उम्मेदवार घरदैलोमा व्यस्त रहेको तथा गाडीमा चालक एक्लै रहेको थियो । मृतक बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको तथा थप अनुसन्धान जारी रहेको छ ।








