बुटवल,२२ माघ ।
गाैतमबुद्वकाे जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । विहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार–प्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरिएको लुम्बिनी विकास काेषले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिल कुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ । समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको छ ।

काेषका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि सम्मेलन आयोजनामा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि देशमा भएको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १६ र १७ गते (April 29–30, 2026) लुम्बिनीमा गर्ने तयारी गरिएको हो ।

बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा. लामाले जानकारी दिए । सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिका विषयमा छलफल र कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

यसअघि आयोजना भएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको लुम्बिनी विकास कोषकाे दाबी छ ।