काठमाडौँ,२२ माघ ।
आईसीसी पुरुष टी २० विश्वकप अभ्यासअन्तर्गत नेपालले दोस्रो खेलमा पनि विजय प्राप्त गरेको छ ।
बिहीबार क्यानडाविरुद्ध चेन्नईमा सम्पन्न अभ्यास खेलमा ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा नेपाल १२ बल बाँकी हुँदै ६ विकेटले विजयी भएको हो ।
यसअघि मंगलबार यूएईविरुद्ध पनि नेपालले १८ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको थियो ।
टस जितेर ब्याटिङ रोजेको क्यानडाले आज बिहीबार नेपाललाई २० ओभर खेल्दै १ सय ६२ रनको लक्ष्य दिएको थियो। उसले ६ विकेट क्षतिमा १६१ रन बनाएको थियो ।
क्यानडाका लागि युवराज समरा ७, नवनीत धालिवाल ४१, कानवरपल ताथगर २५, निकोलस किर्तन १०, हर्ष थाकर ८, शेयस मोव्वा ३८, जसकरण सिंह २१ र शिवम् शर्माले १ रन बनाए। नेपालले अतिरिक्त १० रन दियो ।
बलिङतर्फ नेपालका करण केसी र ललित राजवंशीले विकेट लिन सकेनन्। कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २ विकेट झार्दा नन्दन यादव र सोमपाल कामीले समान १ विकेट झारे ।
यो विश्वकप हाम्रा लागि महत्त्वपूर्ण छ, राम्रो गर्ने सोचेका छौँ: रोहित पौडेल
१६२ रनको लक्ष्य नेपालले १८औँ ओभरमा पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले २९ बलमा ५८ रनको पारी खेले। अर्का ओपनर भुर्तेल १२ रनमा आउट भए पनि सन्दीप जोराले ३० बलमा ४४ रन र गुल्सन झाले २५ बलमा ३१ रन बनाएपछि क्यानडाविरुद्ध नेपाल विजयी भयो ।
लोकेश बम र दीपेन्द्र सिंह ऐरीले क्रमशः ५ र ९ रनको योगदान गरे ।
बलिङतर्फ क्यानडाका जसकरण, साद बिन जफर र अजयवीर हन्डलले समान १ विकेट झारे ।
यसअघि विश्वकप तयारीका लागि भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई पराजित गरिसकेकाे छ ।
अब नेपाली टोली विश्वकपका लागि मुम्बई जानेछ । नेपालले तीन दिनपछि इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। नेपालले खेल्ने सबै खेल मुम्बईमै हुनेछ ।
आईसीसी टी–२० विश्वकप २०२६ खेल्ने टोली
आरिफ शेख, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, लोकेश बम, रोहित पौडेल, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, ललित राजवंशी र नन्दन यादव ।








