पाल्पा,१ माघ ।
माघे संक्रान्ति पर्वको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्र रिडीमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्र रिडीमा बिशेष गरी
तीन दिनसम्म लाग्ने माघे संक्रान्ति मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेश मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको हो ।

रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाे छ ।

माघे संक्रान्तिकाे अवसरमा परम्परादेखि कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी सङ्क्रान्तिका रूपमा धार्मिक मेला लाग्दै आएको छ । नेपालका चारधाममध्ये एक रुरु धाममा देशभित्रका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

माघे संक्रान्तिकाे अवसरमा कालीगण्डकीमा स्नान गर्नाले नजानेर गरेका पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेकाले श्रद्धालुहरू यहाँ आउने गरेका हुन् ।

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेश मन्दिरमा स्याङ्जा र गुल्मीबाट मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पर्यटक आकर्षित गर्न यस वर्ष युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरेका छन् ।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायत घरेलु सामग्रीका साथै हुम्ला, जुम्लाको ओखरको घाँजीलगायत सामग्री बिक्रीका लागि राखिएका छन् ।

पाल्पा तथा गुल्मीको थोर्गासहित आसपासका किसानले गुँड, खुदो, चाकुका साथै स्थानीय उत्पादनका दुई सयभन्दा बढी पसल राखेका छन् ।