बुटवल,२४ पुस ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन नेपालको लुम्बिनीमा औपचारिक भ्रमणमा आएका छन् । उनलाई बिहीबार साँझ लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठसहित काेषका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए ।
भ्रमणको क्रममा रमनले लुम्बिनीका प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरूको अवलोकन गरेका छन् । उनी मायादेवी मन्दिर, पुष्पकरिणी पोखरी, र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोपेको पिपल रुख अवलोकनका लागि पुगेकाे लुम्बिनी विकास काेषले जनाएको छ ।
भ्रमणका क्रममा सदस्य सचिवले लुम्बिनी विकास कोषको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे विस्तृत जानकारी गराएका थिए । उनले लुम्बिनीको संरक्षण, पर्यटकीय विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक धरोहर संरक्षणका चुनौती तथा उपलब्धिहरूबारे पनि चर्चा गरे ।
यसैबीच, जनरल रमनले पनि भारतीय पक्षको दृष्टिकोणबाट लुम्बिनीको महत्व, सांस्कृतिक आदान–प्रदान र द्विपक्षीय सहयोगका अवसरहरूमा आफ्नो दृष्टिकोण राखेका थिए ।
साे अवसरमा दुवै पक्षले लुम्बिनीको सांस्कृतिक धरोहरको संरक्षण, पर्यटन प्रवर्द्धन र लुम्बिनीलाई विश्वकै सांस्कृतिक र धार्मिक पर्यटकको आकर्षण केन्द्रका रूपमा प्रवर्द्धन गर्न दीर्घकालीन योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
लेफ्टिनेन्ट जनरल रमनको यो भ्रमणले नेपालको सांस्कृतिक पर्यटन, धार्मिक महत्व र द्विपक्षीय सैन्य सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, यसले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध र आपसी विश्वासलाई अझ बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउने सदस्य सचिव श्रेष्ठले बताए ।








