बुटवल,२० पुस ।
बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविरमा आइतबार २२२ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् ।

आइतबार बुटवल उपमहानगरपालिका वडा नं १६ मा
११९ जना र वडा नं १७ मा सञ्चालित शिविरमा १०३ जना गरि २२२ जना जेष्ठ नागरिकहरू लाभान्वित भएकाे बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नं १६ र वडा नं १७ मा सञ्चालित छुट्टाछुट्टै शिविरमा सहभागी जेष्ठ नागरिकहरूसँगकाे भेटघाटमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई अस्पतालमा लामो समय लाइन लागेर उपचार गर्न नपरोस् भन्ने उदेश्यले उपमहानगरपालिकाले बा आमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको भन्दै शिविरबाट लाभ लिन जेष्ठ नागरिकहरूलाई आग्रह गरे ।

आफ्नै टोल छिमेकमै जेष्ठ नागरिकहरूलाई बिशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउदै नगर प्रमुख पाण्डेयले अब बर्षमा दुईपटक यस्तैखाले शिविर सञ्चालन गर्नेगरि कानुनी प्रवन्ध मिलाइएको जानकारी गराए ।

जेष्ठ नागरिकहरूलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने आफुहरूकाे प्रतिवद्वता अनुसार बा आमासँग नगर प्रमुख स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको उल्लेख गर्दै उनलेे हिडडुल गर्न नसक्ने तथा अशक्त जेष्ठ नागरिकहरूलाई यातायातको ब्यवस्था गरेर शिविरसम्म ल्याउन र आउन नसक्नेलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्ने ब्यवस्था मिलाइएको बताए ।

नगरका जेष्ठ नागरिकहरूकाे स्वास्थ्य समस्यालाई मध्येनजर गरि बा आमासँग नगर प्रमुख स्वास्थ्य कार्यक्रम अन्तर्गत बर्षमा दुईपटक निशुल्क जेष्ठ नागरिकहरूकाे स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गर्नैपर्ने कानुनी प्रवन्ध मिलाइएको जानकारी गराउदै उनलेे जनप्रतिनिधिमा जाेसुकै आए पनि अब बर्षमा दुईपटक यस्तैखाले शिविर सञ्चालन हुने बताए ।

कार्यक्रममा फेमिलि फिजिसियन डा डी बी खत्रीलगायतले स्वास्थ्य शिविरको महत्व र स्वस्थ रहन अपनाउनुपर्ने सावधानी बारे प्रकाश पारेका थिए ।

यही पुस ७ गते बुटवल उपमहानगरपालिका वडा नं १ बाट सुरु भएको स्वास्थ्य शिविर नगरका १९ वटै वडामा सञ्चालन हुने जनस्वास्थ्य शाखा प्रमुख प्रमुख पाण्डेयले बताए ।