बुटवल,१८ पुस ।
अन्तर्राष्ट्रिय भागवत भूषण आचार्य नारायण शरण उपाध्याय श्रीसञ्जेलजी महाराजलाई सम्मान गरिएको छ ।

आध्यात्म दर्शन र सनातन संस्कृतिको संरक्षण र सम्र्बद्धनको लागि उनले गरेकाे योगदानको उच्च मूल्याङ्कन गर्दै सञ्जेलजी महाराजलाई “राष्ट्रिय धरोहर आध्यात्मिक प्रवाचक सम्मान २०८२“ द्वारा सम्मान गरिएको हो ।

भक्तियोग फाउण्डेशन नेपालका संस्थापकाचार्य एवं परमाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय भागवत भूषण परमपूज्य आचार्य श्रीसञ्जेल महाराजजीले अध्यात्म दर्शन र सनातन संस्कृति संरक्षणसँगै सम्वर्धनार्थ नेपाल लगायत विदेशमा योगदान दिँदै आएका छन् ।

“नेपाल पर्यटन बोर्ड“ को सभागृहमा “राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल“ को तत्वावधानमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका सञ्चार मन्त्री जगदीश खरेलले दोसल्लासँगै माल्यापर्णगर्दै सम्मान पत्र हस्तान्तरण गरेका थिए । सम्मानका क्रममा राष्ट्र भक्तिले ओतप्रोत सम्पूर्ण सभागार गुञ्जायमान भएको थियो ।

“राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल“ का अध्यक्ष राजानन्द माण्डव्यको अध्यक्षतामा आयोजित सम्मान सभामा विशिष्ट अतिथि वरिष्ठ उद्योगपति समाजसेवी डाक्टर भवानी राणा, चलचित्र नायक प्रदीप खड्का, मिस नेपाल लूना लुईटेल लगायत विद्वान् गुरुजन, वरिष्ठ कवि, कलाकार, समाजसेवी, धार्मिक ब्यक्तित्व एवम् राजनीतिज्ञहरुको सहभागीता रहेको थियो ।

आध्यात्म दर्शन र सनातन संस्कृतिको संरक्षण र सम्र्बद्धनको लागि गरिएको सम्मानले धार्मिक क्षेत्रको प्रर्बद्धन एवं संरक्षणमा थप जिम्मेवारी महशुस भएको नारायण शरण सञ्जेलजी महाराजले बताए । पछिल्लो समय सनातन सँस्कृति माथी हुने गरेका आक्रमणहरु रोक्न कथाको माध्यमबाट आफू सदा लागिरहने उनको प्रतिवद्धता छ ।

कथा प्रवचनमा प्रखर अन्तर्राष्ट्रिय भागवत भूषण सञ्जेलजी महाराज नेपालका सबै जिल्ला एवम् भारत लगायत विदेशमा समेत कथा प्रवचनगर्दै आएका छन् । पछिल्लो समय नेपालमा भागवत कथालाई आर्थिक संकलन गर्ने होडवाजीका रुपमा विकशित भैरहेको अवस्थामा सञ्जेलजी महाराजले आर्थिकलाई भन्दा कथा प्रवचनलाई महत्व दिने भएकाले उनको लोकप्रियता ह्वात्तै बढेको बताएको छ । उनले नेपाली भाषामा पहिलो गणेश चालिसा धार्मिक कृति प्रकाशन गरेका छन् । कार्यक्रममा अन्य विधामा योगदान पुर्याएका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।