बुटवल,१४ पुस ।
सितलहरका बाबजुद बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ जाँच तथा उपचार शिविरमा सेवाग्राहीहरूकाे उत्तिकै सहभागीता देखिएको छ ।

माैसमकाे प्रतिकुलताका बाबजुद साेमबार बुटवल उपमहानगरपालिका वडा नं ८ र ९ मा सञ्चालित निशुल्क स्वास्थ जाँच तथा उपचार शिविरमा सेवाग्राहीहरूकाे उल्लेखनीय सहभागीता देखिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरमा सञ्चालित शिविरमा ६१ जना र वडा नं ९ मा ८१ जना जेष्ठ नागरिकले सेवा लिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।

साेमबार बिहान बुटवलको सुख्खानगरमा सञ्चालित शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थामा धाउन नपरोस् भन्ने उदेश्यले उपमहानगरपालिकाले बा आमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको जानकारी गराउदै कम्तीमा पनि बर्षकाे दुईपटक यस्तैखाले शिविर सञ्चालन गर्ने योजना रहेको बताए ।

हाल बुटवलका विशिष्ट स्वास्थ्य संस्थामा कार्यरत विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य जाँच र उपचार सेवा उपलब्ध गराइएकोमा आगामी दिनमा ल्यावसहितकाे शिविर सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख पाण्डेयले बताए ।

सितलहरका बाबजुद पनि शिविरमा उल्लेखनीय सेवाग्राहीले सेवा लिएको बुटवल उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।

यही पुस ७ गते बुटवल उपमहानगरपालिका वडा नं १ बाट सुरु भएको स्वास्थ्य शिविर नगरका १९ वटै वडामा सञ्चालन हुने जनस्वास्थ्य शाखा प्रमुख प्रमुख पाण्डेयले बताए ।