बुटवल,१३ पुस ।
लुम्बिनी प्रदेश औपचारिक रूपमा साक्षर प्रदेश घोषणा भएको छ ।

आइतबार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घाेषणा गरिएको हो ।
१५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपछि लुम्बिनी प्रदेश साक्षर घोषणा गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेश घोषणा महत्त्वपूर्ण उपलब्धि भए पनि अब शिक्षित प्रदेश निर्माणतर्फ अघि बढ्नुपर्ने बताए । शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाको संयुक्त प्रयासका कारण साक्षर प्रदेश सम्भव भएको उल्लेख गर्दै उनले साक्षरताको दिगोपनामा जोड दिए ।

“घोषणा आफैँमा ठूलो कुरा होइन, साक्षरतालाई टिकाइराख्नु मुख्य चुनौती हो,” मुख्यमन्त्री आचार्यले भने, “अब साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्ने दिशामा छिट्टै अघि बढ्नुपर्छ ।” उनले नवयुवाहरू दुर्व्यसनमा फस्दै जानु चिन्ताजनक विषय भएको उल्लेख गर्दै दुर्व्यसनमुक्त प्रदेश बनाउने अभियानलाई सशक्त बनाइनुपर्ने पनि बताए ।

प्रदेशमा पाँच हजार ७२२ सामुदायिक बालविकास केन्द्र, चार हजार ४३९ सामुदायिक विद्यालय, तीन विश्वविद्यालय, एक सय ८७ क्याम्पस र ३२९ सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा छन् । विद्यालय तहमा १२ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्तीमगर, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतले साक्षरतालाई गुणस्तरीय शिक्षा, सामाजिक न्याय र आयआर्जनसँग जोड्नुपर्ने बताएका थिए । कार्यक्रममा साक्षर प्रदेश घोषणा अभियानमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।