हालसम्म ३०.५६ प्रतिशत भाैतिक प्रगति
बुटवल,४ पुस ।
अर्थमन्त्री रामेश्वर खनालले निर्माणाधीन आयोजनाहरूकाे काम राेकिनेगरी बजेट कटौती नहुने बताएका छन् ।

बिहीबार साँझ बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल भवनको स्थलगत अवलोकन गर्दै अर्थमन्त्री खनालले साना र केही टुक्रे योजनाहरू कटौती गरे पनि निर्माणाधीन आयोजना अबरुद्ध हुनेगरी आयोजनाकाे बजेट कटौती नगरिएको बताएका हुन् ।

लुम्बिनी प्रदेश सरकारले गाैरवकाे आयोजनाकाे रूपमा निर्माण गरिरहेको प्रादेशिक अस्पताल भवन निर्माणका लागि बजेट अभावका कारण काम राेकिने हो कि भन्ने आशंका उत्पन्न भएका बेला अर्थमन्त्री खनालले आयोजनाकाे स्थलगत अवलोकन गरेका हुन् ।

प्रदेश सरकारको गाैरवकाे आयोजनाका रूपमा निर्माणाधीन प्रादेशिक अस्पताल भवन निर्माण कार्यलाई निरन्तरता दिन प्रदेश सरकारनै बढी लागिपर्नुपर्ने भन्दै उनलेे प्रदेश सरकारले नसके कामै राेकिने अवस्था आउन दिननहुने कुरामा आफू पनि सचेत रहेको बताए ।
त्यस बिषयमा प्रदेश सरकारकाे आधिकारिक मन्त्रालयसँग छलफल गरेर निकास निकाल्न आफुले पहल गर्ने आश्वासन दिए ।

भवन निर्माण मात्रै नभएर संरचना अनुसारको सेवा प्रदान गर्नु महत्त्वपूर्ण हुने भन्दै अर्थमन्त्री खनालले त्यसका लागि संघ सरकारबाट उपलब्ध गराउन सकिने सहयोग जुटाउने बिषयमा सहजिकरण गर्ने बताए ।

त्यस क्रममा लुम्बिनी प्रदेश सभा सदस्य भाेजप्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अर्थमन्त्री खनाल यही क्षेत्रकाे बासिन्दा समेत भएकोले देशकै नमुना अस्पतालकाे रूपमा विकास भैरहेको अस्पतालका लागि आवश्यक बजेट ब्यवस्थापन गर्न अर्थमन्त्री खनालसँग माग गरे ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका इन्जिनियर शंकर सुवेदीले निर्माणाधीन अस्पताल भवनको काम सम्पन्न भइसकेको ४५ करोड बढी रकम ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको भन्दै समयमा बिल भुक्तानी नगरे काम राेकिनसक्ने बिषयमा मन्त्रीलाई जानकारी गराएका थिए । निर्माणाधीन अस्पताल भवनका लागि करिब एक अर्ब रूपयाँ आवश्यक पर्ने भन्दै उनलेे संघ सरकारबाट उक्त रकम ब्यवस्थापन भए समयमै काम सम्पन्न हुने बताए ।

साढे १४ महिनामा आयोजनाकाे हालसम्म ३०.५६ प्रतिशत भाैतिक प्रगति भएको र बित्तीय प्रगति २६ प्रतिशत मात्रै रहेको भन्दै इन्जिनियर सुवेदीले भाैतिक प्रगति र वित्तीय प्रगति सँगसँगै भए समयमै आयोजना सम्पन्न हुने प्रतिक्रिया दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका लागि प्रदेश सरकारले २०८०/०८१ मा ६० करोड, २०८१/०८२ मा १ अर्ब ८० करोड र चालु आव २०८२/०८३ मा १ अर्ब विनियोजन गरेको छ ।

गुरुयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपैयाँ बराबरको लागत अनुमान गरिएको थियो । तर निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा ५ वर्षमा निर्माण सक्ने गरी ०८० पुस २६ गते भवन निर्माणको ठेक्का पाएको हो । यो ठेक्का अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट–आशीष–रेलिग्रेट भेञ्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा लिएको छ ।

भवन निर्माण सम्पन्न भएपछि अस्पताललाई १,२०० शैयामा बिस्तार गर्ने योजना छ । जसमा क्यान्सर भवन, हेलिप्याड, र विभिन्न विशेषज्ञ सेवाहरू समावेश हुनेछन्।