बुटवल,२९ मंसिर ।
बुटवल स्थित कालिका मानव ज्ञान माविको ६५ औ वार्षिक उत्सवको अवसरमा आज सोमबार विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । कक्षा ११ र १२ मा राष्ट्र निर्माणमा युवा सहभागिता विषयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका विवेक खराल प्रथम, कक्षा १२ विज्ञानकै शिशिर मल्ल द्वितीय, कक्षा ११ विज्ञानका विमर्श बस्नेत तृतीय र कक्षा ११ विज्ञानका रचना जिसी चतुर्थ स्थान हासिल गर्न सफल भएका छन् ।
कक्षा ११ र १२ नेपाली विषयका विभागीय प्रमुख सरस्वती थापाको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितानन्द ज्ञवालीको प्रमुख अतिथ्यता, शिक्षक त्रय शालिग्राम घिमिरे, शर्मिला पाण्डे र कृष्णप्रसाद सापकोटाको निर्णायक मण्डल रहेको विद्यालयका प्रधानध्यापक दिनेश थापाले जानकारी दिए ।
त्यसैगरी कालिका सवालमा विद्यालयमा सञ्चालित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, खेल संयोजक ओम सारु, अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोखरेलको उपस्थितिमा उक्त पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
कबड्डी, भलिबल, रस्साकस्सी, सटपुट, ज्याबलिन थ्रो, दौड लगायतका विविध खेलमा सहभागी भई पुरस्कार जितेका करिब २०० जना विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोखरेलले जानकारी दिए ।
त्यसैगरी सांस्कृतिक कार्यक्रम अन्तर्गत लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सांस्कृतिक समितिका संयोजक गोरख रोकाको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकहरू सन्तोष सारो, सिमरन राणाभाट र सोनिया थापा निर्णायक रहेका थिए । उक्त कार्यक्रममा कक्षा ११ व्यवस्थापन संकायको समूह प्रथम स्थान हासिल गर्न सफल भएको छ ।








