काठमाडौं,२२ मंसिर ।
ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम दिलाउने प्रलोभनमा पारेर ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको आरोपमा पाकिस्तानी तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्राप्त समाचार अनुसार ‘ड्यानी’ नामले चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत नेपालीहरूलाई आकर्षक तलब, आवास र कानुनी कागजातको लोभ देखाएर लाकोनिया, स्काला पु¥याएका थिए । तर, उनीलगायतको समूहले भने ती नेपाली युवाहरूलाई कुनै सुविधा नदिई उल्टै बिनातलब बन्धक बनाएर काममा लगाएका थिए ।
नियोचोरी पुगेपछि उनीहरूलाई गोदाममै थुनी बाहिर जान नदिने, ट्रक–कारमार्फत खेतमा लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरिएको खुलेको छ । ती तस्करहरूले नेपाली युवाहरूका यात्रा कागजात खोसिएर १,५०० युरो तिर्नुपर्ने धम्की समेत दिँदै काममा लगाएका थिए ।
नोभेम्बर २६ मा मानव बेचबिखनविरुद्धको हटलाइन ११०९ मा सूचना परेपछि प्रहरीद्वारा गरिएको खोजतलासमा सबै नेपालीहरू गोदाममै फेला परेकाे बताइएको छ । घटनामा ४४ वर्षीय ग्रीक नागरिक संलग्न रहेको पाइएको स्थानीय प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएका दुई ट्रक र एक कार पनि बरामद गरिएको छ । कारका मालिक २८ वर्षीय पाकिस्तानीविरुद्ध समेत कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।








