सडक स्तराेन्नतीमा वन उपभोक्ता समितिले अवरोध गरेको गुनासो
बुटवल,१८ मंसिर ।
बुटवलका मगर समुदायले आज बुटवल ७ दीपनगर स्थित बाजेबजै थानमा आफ्ना पितृहरुको सम्झनामा सामुहिक रूपमा कुल (पितृ) पूजा गरेका छन् ।

देशका विभिन्न ठाउँबाट बुटवलमा बसाेबास गर्ने मगर समुदायले आफ्ना पितृहरुको सम्झनामा बाजेबजै थानमा सामुहिक रूपमा कुल (पितृ) पूजा गरेका हुन् ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि बाजेबजै थानमा विशेष पूजा सम्पन्न गरेका हुन् ।
सो अवसरमा आयोजित विशेष कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रुपमा समृद्ध रहेको बताउँदै यसलाई संरक्षण र प्रवर्द्वन गर्न जरुरी रहेकोमा जोड दिए । बुटवल उपमहानगरले मगर ढुट भाषामा नागरिक वडापत्र राखेर मगर समुदायको भाषा संरक्षणको सुरुवात गरेको बताए ।
बुटवलमा बसोबास गर्ने हरेक समुदायको भाषा र संस्कार संस्कृतिलाई बचाउन नगरपालिकाले कन्जुस्याई नगर्ने उनको भनाई थियो । सांस्कृतिक रुपमा धनी मगर समुदायले शैक्षिक र आर्थिक समृद्धिको कुरामा समेत ध्यान दिन बढी जरुरी रहेकोमा जोड दिए ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,बुटवल उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष चन्द्रसिं थापा,नेपाल मगर संघका केन्द्रीय सदस्य धनी आले,मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे,सल्लाहकार किसन बहादुर थापा,शिवनगर सामुदायिक वन उपभोक्ता समितिका सहसचिव शिव अधिकारी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
संघका बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मगर समुदायले हरेक वर्ष मंसिर अन्तिम शुक्ल पूर्णिमाको दिन आफ्ना पितृहरुको स्मरण गर्दै बाजेबजैलाई पूजाआजा गर्ने प्रचलन रहेको छ ।
साे अवसरमा मगर समुदायका बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
सामुहिक पुँजापछि बुटवल उपमहानगरपालिकाका छुट्टाछुट्टै वडामा गठित वडा समितिहरूले आ आफ्नो वडाको सेडमा नाँचगान गरेका थिए ।
मगरहरूले लाखौं रकम खर्च गरेर बाजेबजै थान तथा पिकनिक सेडहरू निर्माण गरे पनि त्यहाँसम्म पुग्ने सडक राम्रो नहुदा दुर्घटनाको जाेखिम बढेको मगर संघ बुटवल-८ की पुर्व अध्यक्ष तथा महिला नेतृ धनीसरा दर्लामीले बताइन् ।
बाजे बजै थानमा जाने सडक स्तराेन्नतीका लागि गत बर्ष नगरपालिकाबाट बजेट छुट्टयाइएको भए पनि सामुदायिक बन उपभोक्ता समितिले सहमति नदिदा रकम फ्रिज भएको नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेकाे गुनासो थियोे ।







