बुटवल,१३ मंसिर ।
नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ राष्ट्रिय समितिद्वारा आयोजित “सरसफाई क्षेत्रका श्रमिक अधिकार प्रवर्द्धन” बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठले सरसफाईकाे क्षेत्रमा काम गर्ने श्रमिक बढी जाेखिममा पर्न सक्ने भन्दै काम गर्ने क्रममा मजदुरहरू सचेत बन्नुपर्नेमा जाेड दिए ।
कार्य क्षेत्रमा खट्दा आइपर्न सक्ने समस्या समाधान गर्न र कानुनले दिएका हक अधिकार प्राप्तिका लागि पनि मजदुरहरू सचेत र संगठित हुन जरुरी रहेको भन्दै उनलेे मजदुरका समस्या समाधानका लागि ट्रेड युनियन कांग्रेस सधै तयार रहेको बताए ।
नेपाल वातावरण तथा सरसफाई श्रमिक संघका केन्द्रीय अध्यक्ष बिजय लामाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाेकनाथ न्याैपाने,बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई,बुटवल उपमहानगरपालिकाकी सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल,ट्रेड युनियन कांग्रेस रूपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, मजदुर नेता विजय तामाङ,राजकुमार घिमिरेलगायतले ब्यवसायजन्य स्वास्थ्य सुरक्षा र पेशागत हक अधिकार प्राप्तिका लागि मजदुरहरू एकजुट हुनुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा सामाजिक सुरक्षा काेषका बरिस्ठ उपनिर्देशक महेश घिमिरे, ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, स्थानीय तह कर्मचारी युनियन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष नरबहादुर साउद लगायतले छुट्टाछुट्टै बिषयमा प्रशिक्षण दिएकाे मजदुर नेता लालबहादुर सारूले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सरसफाई क्षेत्रमा कार्यरत करिब ८५ जना मजदुरहरूकाे सहभागीता रहेको उनलेे बताए ।








