काठमाडौँ,३ मंसिर ।
मेडिकल ब्यवसायी दुर्गा प्रसाईं प्रहरी हिरासतमा रहेको अवस्थामा पनि प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानद्वारा पुर्व घाेषित आन्दोलन अगाडि बढाउने कसरत सुरु भएको छ ।
प्रसाईंकाे अनुपस्थितमा पनि आन्दोलन कसरी अगाडि बढाउने भन्ने बिषयमा राष्ट्रवादी तथा राजावादी संघ संस्थाहरू निरन्तर छलफलमा जुटेको नेपाली कांग्रेस (बीपी) का महामन्त्री देवेन्द्र प्रकाश पाैडेलले जानकारी दिए ।
ब्यवस्था परिवर्तन गर्ने भन्दै यही मंसिर ७ गतेदेखि आन्दोलनको घाेषणा गरेका महाअभियानका संयोजक दुर्गा प्रसाईलाई साेमबार मध्यराति प्रहरीले पक्राउ गरेपछि पुर्वघाेषित आन्दोलन के हुन्छ भन्ने अन्याैल भएका बेला राजावादी तथा राष्ट्रवादीहरू छलफलमा जुटेका हुन् ।
प्रसाईंकाे अनुपस्थितमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा आज नेपाली कांग्रेस (वीपी),राष्ट्र राष्ट्रियता, धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधि,पुर्व सांसद ऋषिबाबू परियार,राजावादी गतिविधि गर्दै आएको सन्तोष राजावादी समुहलगायतका राजावादीहरूबीच छलफल भएको महामन्त्री पाैडेलले बताए । उनका अनुसार दुर्गा प्रसाईं प्रहरी हिरासतमै रहेको अवस्थामा पनि आन्दोलन अगाडि बढाउनुपर्नेमा राष्ट्रवादीहरू एकमत भएको छ ।
पुर्व घाेषित आन्दोलन अगाडि बढाउने बिषयमा राजावादी तथा राष्ट्रवादी एकमत भए पनि आन्दोलनको स्वरूप बारे भाेली बिहीबार नेपाली कांग्रेस (वीपी) को पार्टी कार्यालयमा छलफल गर्ने सहमति भएको महामन्त्री पाैडेलले बताए ।
बिहीबारको छलफलमा नेपाली कांग्रेस (वीपी),नेपाली कांग्रेसका हिन्दुवादी नेताहरू,राप्रपाका नेताहरूसहित राजावादी तथा हिन्दुवादी अभियन्ताहरू सहभागी हुने उनलेे बताए ।
प्रसाईंकाे गिरफ्तारीलाई “राष्ट्रवादकाे गिरफ्तारी” काे संज्ञा दिदै प्रसाईंलाई बिनासर्त रिहाइको माग गरेको नेपाली कांग्रेस (वीपी) ले विचार र अभिव्यक्ति दिएकै आधारमा गिरफ्तार गर्ने हो भने हजारौं राष्ट्रवादीहरू गिरफ्तारी दिन तयार रहेको जनाएको थियो ।
बिवादास्पद अभिब्यक्ति दिएको आराेपमा पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले मंगलबार चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।








