बुटवल,१८ कार्तिक ।
जेनजी अभियान्ताकाे रूपमा चिनिएका डा. निकोलस भुसाल पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई केही बेरअघि गोरखा नगरपालिका–८ रानीवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भुसाल गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन् ।

प्रहरीको खोजी सूचीमा भुसालसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौँ लैजाने तयारी छ ।

भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा गोली चलाएर नागरिकको हत्या गरेकाे भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ नगरेकोमा उनलेे सरकारकाे विरोध जनाउँदै आएका थिए ।

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका बेला उनी २३ असोजमा पक्राउ परेका थिए । अनुमति नलिई प्रदर्शनमा उत्रिएकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनी गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध खरो टिप्पणी गर्दै आएका छन् ।

यसअघि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।

विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ गरी अदालतमा उनीविरुद्ध मुद्दा समेत दायर भएको थियो । त्यसमा उनी ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।