बुटवल,६ कार्तिक ।
यमपञ्चक अर्थात् तिहारकाे मुख्य दिन आज भाइटिका पर्व मनाइदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँने गरिन्छ ।
श्रद्धा, आस्था र निष्ठाका साथ दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने प्रचलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३९ बजेको अभिजित् मुहूर्त उत्तम रहेको पञ्चायन निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाउने पश्चिम फर्कनुपर्ने छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा र सौभाग्यका प्रतीक कपडा उपहार दिने परम्परा छ । त्यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेको छ ।








