पर्वत,२२ असाेज ।
पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगरेकाे भन्दै एक ठेकेदार कम्पनीको जमानत जफत भएको छ ।
जमानत जफत हुनेमा पिआरओमबुद्ध जेभी बसुन्धरा काठमाडौँ रहेको छ ।
पूर्वाधार विकास कार्यालय पर्वतले जिल्लाकाे महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआरओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत जफत गरेको हो ।
१८ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७८ जेठ १८ गते सम्झौता भएको सडक २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यावसायीले सडक चाैडा गर्ने बाहेक अन्य काम नगरेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । पटक पटक म्याद थप गरी २०८१ चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
कूल रु ११ करोड २२ लाख ६६ हजारको लागतमा निर्माण हुने झन्डै छ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत नै भएको थियो । पटक–पटक काममा फर्किन मौखिक र लिखित रूपमा पत्राचार गरिएको भए पनि निर्माण व्यवसायीले आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तयारी भएको छ ।
सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ । अहिले यो सडकमा सवारी साधन सञ्चालन गर्न निकै सास्ती रहेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख अर्यालका अनुसार निर्माण शुरु भएपछि निर्माण व्यवसायीले चार करोड १३ लाख भुक्तानी लगिसकेको छ । जमानत जफत भएपछि पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकोले अन्य कारबाही प्रक्रिया समेत अघि बढाउन थालिएको उनलेे बताए ।
निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर मात्र छाडेका कारण वडा नंं.५ को काफल डाँडामा रहेको गाउँपालिकाको कार्यालय, वालाकोट र होश्राङदीका बासिन्दालाई दैनिक आउजाउ गर्न समस्या भएको अध्यक्ष भुसालले बताए । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गतको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयवासीको गुनासो छ ।






