बाँके,१९ असाेज ।
बाँकेका विभिन्न स्थानमा शनिबार साँझदेखि लगाइएको निषेधाज्ञा जारी रहेको छ ।

बडादशैँको दूर्गा मूर्ति विसर्जन गर्ने क्रममा झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार साँझ ७ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सूचना जारी गर्दै दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा हिन्दु र मुस्लिम समुदायबीच झैझगडा भएका कारण निषेधाज्ञा जारी गर्नु परेको बताएका छन् ।

स्थानीय प्रशासनले डुडुवा गाउँपालिका-६ नेपालगञ्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुर गाउँपालिका- ५ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा लागु भएका स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस वा र्‍याली गर्न, धर्ना, सभा(समारोह गर्न, हतियार बोक्न र उच्छृङ्खल गतिविधि गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ। शान्ति, सुरक्षा र धार्मिक सद्भाव कायम गर्न सहयोग गर्न समेत कार्यालयले अनुरोधसमेत गरेको छ ।