काठमाडौँ,१२ भदौ ।
तीज पर्वको अन्तिम दिन आज ऋषिपञ्चमी, नेपाली हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाहरूले मात्रै गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले गल्तीबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

महिलाको रजस्वलासँग जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा भगवान इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको हिन्दु धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।