बुटवल,५ भदौ ।
लुम्बिनी प्रदेश सरकाले बड्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सुचना जारी गरि उक्त जानकारी गराएको हो ।

थारू समुदायमा महत्वका साथ मनाइने बड्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने साँस्कृतिक मान्यता छ ।

थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।