पाल्पा,१ भदौ ।
पाल्पामा आज ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वकाे भगवती ( रथयात्रा ) जात्रा निकालिएको छ ।
नुवाकोट (पाल्पा)–जितगढी युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको विजयाेत्सवकाे सम्झनामा भगवतीकाे रथयात्रा निकालिदै आएको छ ।
वि.सं.१८७७ को भाद्र कृष्ण नवमीका दिनदेखि पाल्पाको तानसेनमा निरन्तर यो जात्रा निकालिँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए ।
रथयात्रामा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेय, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर,प्रदेशका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, स्वास्थ्य मन्त्री खेमसारु,प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, नारायण आचार्यलगायत प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, नारायण आचार्य,नेपाली सेना,नेपाल प्रहरी,ससस्त्र प्रहरी,निजामती कर्मचारी,प्राध्यापक,शिक्षक,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,स्थानीयसहित दशाैं हजारकाे
सहभागिता रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
कर्णेल उजीरसिंहका सन्तानहरुसमेत पूजाका लागि पाल्पा आएका थिए । रथयात्रामा जिल्लाका सरकारी कार्यालय, संघसंस्था, टोल विकास समूह बजार परिक्रमा गरेका थिए । भजनकिर्तन, पञ्चेबाचासहितको साँस्कृतिक झाँकी समेत प्रस्तुत भएकाे थियो । भगवती मन्दिरबाट निशान, मुलढोका सित्तलपाटी हुँदै दरबारमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र, समन्वय समितिले पूजा दिएका थिए ।
संस्थागत पुजापछि मात्र सर्वसाधारणले रथयात्राका क्रममै पूजा दिए । कर्णेली पूजाका साथै नेपाली सेनाको गणभित्र पुगेर पूजा दिइएको थियो । तानसेनका बसन्तपुर, असनटोल, नारायणटोल, भीमसेनटोल, बसपार्क, टुँडिखेल, बडिज्ञानटोल, सिल्खानटोल, टक्सार लगायतका स्थानमा रथ लगिएको थियो । पाल्पा गाैडामा तैनाथ तत्कालिन कर्णेल उजीरसिंह थापाले जीतगढी युद्धमा अंग्रेज फाैजलाई परास्त गरेको खुसीयालीमा सिन्दुरसहित भगवतीकाे रथयात्रा निकालिदै आएको छ ।
युद्धमा विजयी भएमा भगवतीकाे भब्य मन्दिर बनाई रथयात्रा (खटयात्रा) निकाल्ने भाकल गरेर युद्धमा गएका कर्णेल उजिरसिं थापाले अंग्रेज फाैजलाई परास्त गर्न सफल भएपछि पाल्पामा भगवती रथयात्रा निकाल्ने परम्परा सुरु गरेका हुन ।
वि.सं.१८७२ बैशाख ७ गते दोस्रो पटकको युद्धमा विजयी भएका हुन् । तात्कालिन प्रशासनिक केन्द्र तानसेनमा १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरेका हुन् । युद्धमा जानु अघि उजिरसिंहले भाकल गरेको र युद्ध जितेको विश्वासमा तीन तले भव्य मन्दिर बनाएका हुन् । उनै थापाले १८७७ भाद्र कृष्ण नवमीका दिनदेखि भगवतीको रथयात्रा सुरु गरकोे इतिहास छ । काठमाडौको जात्राबाट प्रभावित थापाले पाल्पामा पनि भगवतीको रथयात्रा गराएका हुन् ।
तात्कालिन कर्णेल थापाको नेतृत्वमा लडाईमा गएको फौजले वि.स. १८७२ बैखाख ७ गते नुवाकोट–जितगढी युद्ध जितेको हो । थापाले जानुअघि ‘हामी रणभुमि तर्फ प्रस्थान गर्दैछौ । रण—विजय हजुरको शक्ति र आर्शिवाद मिलोस् । रण विजय भएमा दिव्य मुर्तिलाई एक सुन्दर मुर्तिभित्र प्रतिस्थापन गरी बर्सेनी खटयात्रा गराउने छु’ भनी भाकल गरेको इतिहासमा उल्लेख छ ।






