पाल्पा,१ भदौ ।
पाल्पामा आज ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वकाे
भगवती जात्रा मनाईदै छ ।
जितगढी युद्धमा अंग्रेज फाैजलाई हराएको सम्झनामा श्रीकृष्ण जन्माष्टमीकाे भाेलीपल्ट पाल्पामा रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै आएको छ ।
मध्यान्ह साढे १२ बजे रथ उठाउने साइत जुरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए ।
नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रुपमा भगवती जात्रा निकाल्ने गरिन्छ । यो वर्ष २०६औं संस्करणको रुपमा जात्रा निकाल्न लागिएको हो ।
भगवती जात्रा पाल्पाको एउटा ऐतिहासिक जात्रा हो । भगवतीको रथयात्राले नेपाल अंग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ । विसं.१८७१/०७२ मा जितगढीमा भएको अंग्रेज युद्धमा तत्कालिन पाल्पा गाैडामा तैनाथ कर्णेल उजीर सिंह नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो ।
पाल्पाको तानसेन स्थित भगवतीथानमा रहेको भगवतीको शीलासँग युद्धमा विजयी भए भगवतीकाे भब्य मन्दिर निर्माण गर्ने र हरेक बर्ष भगवतीको रथयात्रा निकाल्ने भाकल गरी युद्धमा गएका कर्णेल उजिर सिंहले अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकालिने चलन छ । साम्राज्य विस्तारवादको नेतृत्व गरेको हात हतियारधारीले सुसज्जित अंग्रेज फाैजलाई परास्त गर्न सफल भएकोले जितगढीको युद्ध ऐतिहासिक मानिन्छ ।
युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो ।
जात्राको दिन आज प्रदेश सरकारले पाल्पा जिल्लाभर सार्वजनिक विदा दिएको छ । जात्राको अवलोकन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे तानसेन आइपुगेकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।
मन्त्री पाण्डेले जात्राको अवलोकनसँगै भगवती मन्दिरमा पुजाआरधाना गर्ने कार्यक्रम रहेको छ । भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश मन्त्री, पाल्पाबाट निर्वाचित संघीय सांसदहरू पाल्पा आउने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।






