बुटवल,२६ साउन ।
लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बेरुजु बेरुजु फर्छ्योट उप समितिले बेरुजु फर्छ्योटमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्री तथा सचिवसँगकाे बैठकमा उपसमितिले महालेखा परीक्षककाे कार्यालयले औल्याएका प्रदेश सरकारकाे बेरुजु फर्छ्योट गर्न र त्यसको प्रगति प्रतिवेदन मासिक रूपमा सीमितिमा उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकमा प्रदेश सरकारकाे बार्षिक नीति तथा कार्यक्रममा समावेश विषयलाई बजेट तथा कार्यक्रममा अनिवार्य जोड्न, आवधिक योजनाले प्राथमिकतामा राखेका कार्यक्रमलाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्न, अधुरा आयोजनाहरू पूरा गर्ने गरी कार्यक्रम बनाउन, विभिन्न अनुदान व्यवस्थापनमा ध्यान दिन, प्रदेश सरकारको सम्पत्ति व्यवस्थापनमा जोड दिन तथा कार्यक्षेत्रभित्र रहेर काम गर्न सरकारको ध्यानाकर्षण गराइएको उपसमिति संयोजक बिष्णु पन्थीले जानकारी दिए ।

बजेट निकासा र कार्यान्वयनसँग बेरुजुको विषयलाई जोडेर समस्या समाधान गर्न सकिने भन्दै छलफलमा सहभागी समितिका सदस्यहरूले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखी योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउदै महालेखा परीक्षकको प्रतिवेदनका सुझावलाई गम्भीरतापूर्वक ग्रहण गरी सुधार योजना लागू गर्ने प्रतिबद्धता जनाए ।

साथै मुख्यमन्त्री आचार्यले मन्त्रालय तथा कार्यालयहरूले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखी योजना निर्माण र कार्यान्वयन गर्न निर्देशन दिए ।

छलफलमा मुख्यमन्त्री आचार्यसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, सार्वजनिक लेखा समितिका सदस्यहरु, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।