पाल्पा,२० साउन ।
लगातारको बर्षासँगै ठाउँ ठाउँमा पहिरो खस्दा सिद्वार्थ राजमार्ग,तानसेन-तम्घास सडक खण्ड,कालिगण्डकी करिडोरलगायतका सडककाे यात्रा कष्टकर बनेको छ ।

पहिरोका कारण गयरातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्ड अझै खुलेको छैन ।
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरो नहटाउँदा पाल्पा-बुटवल सडक खण्ड अझैसम्म अवरुद्ध रहेको छ ।
निरन्तरको वर्षा र सडकमा खसेको पहिरोले बेलुकी ८ बजेदेखि अवरुद्ध भएको सडक मंगलबार बिहानसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वर्षा नरोकिएसम्म सडक खुलाउन नसकिने प्रहरीले जनाएको छ ।
सिद्वार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडक खण्डमा पर्ने तानसेन न.पा.८ गौडेपुल लगायतका ठाउहरुमा पहिरो जादा यात्रा प्रभावित भईरहेको छ ।
सडक अवरुद्ध भएपछि सयौ सवारी साधनहरु बीचबाटाेमै राेकिएका छ ।
बर्षाकै कारण ठाउँ ठाउँमा पहिरो खस्दा पाल्पाका विभिन्न सडक अवरुद्ध भएका छन् ।
पाल्पाको आर्यभन्ज्याङ-रामपुर सडक खण्डमा पर्ने माथागढी गाउँपालिका वडा नं १ बुढिकोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने पाल्पाकै रैनादेवी छहरा गाउँपालिका वडा नं ८ जुठामा पहिरो जाँदा हार्थाेक-छहरा-डाडाकटेरी सडक अवरुद्ध भएको छ ।
त्यस्तै पाल्पाकै रिब्दिकोट गाउँपालिका वडा नं ३ माल्मुलमा सडक माथीबाट पहिरो खस्दा तानसेन-रिडी सडकखण्ड दुई तर्फी अबरुद्ध भएको नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।







