बुटवल,८ साउन ।
लागुऔषध दुर्ब्यसन न्युनिकरण गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य जरुरी रहेको बुटवलमा आयोजित एक कार्यक्रममा सराेकारवालाहरूले जाेड दिएका छन् ।
रिकभरिङ्ग नेपालकाे आयोजनामा बिहीबार बुटवलमा आयोजित एचआईभी र क्षयरोगका जाेखिम समुहको स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न मानवअधिकार र स्वास्थ्य अधिकार सम्बन्धि छलफल कार्यक्रममा सहभागीहरूले लागुऔषध दुर्ब्यसन सम्बन्धि समस्या न्युनिकरण गर्न सराेकारवाला निकायबीच समन्वय र सहकार्य जरुरी रहेकोमा जाेड दिएका हुन् ।
कार्यक्रममा रिकभरिङ्ग नेपालका कार्यकारी निर्देशक बिष्णु फुयल शर्माले लागुऔषध दुर्ब्यसन सम्बन्धि समस्या समाधानका लागि नीतिगत तथा कानुनी जटिलता रहेको भन्दै त्यस सम्बन्धि कानुनको प्रारम्भिक मस्यौदा तयार भए पनि ऐनको रूपमा नआएको गुनासो गरे । लागुऔषध दुर्ब्यसन सम्बन्धि समस्या समाधानका लागि केही अन्तर्राष्ट्रिय संघ संस्थाहरूकाे सहयोग रहे पनि नेपाल सरकारले पर्याप्त बजेट नछुट्याएकाे भन्दै उनलेे यो समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने बताए ।
देशभर एक लाख ३२ हजार लागुऔषध प्रयोगकर्ता रहेको तथ्यांक प्रस्तुत गर्दै उनलेे बुटवलमा मात्रै ३५० महिला र तीन हजार पुरूष गरि तीन हजार ३५० जना लागुऔषध प्रयोगकर्ता रहेको जानकारी गराए ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले बुटवलमा लागुऔषध दुर्ब्यसन न्युनिकरणका लागि उपमहानगरपालिकाले सचेतनामूलकलगायत बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । लागुऔषध दुर्ब्यसनलगायत कुलतमा फसेकाहरूलाई भेदभाव र लाञ्छना लगाउने कार्य गर्न नहुने भन्दै उनलेे भेदभाव र लाञ्छनाले समस्या समाधान गर्नेभन्दा थप समस्या उत्पन्न हुने धारणा राखे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शालिकराम खनाल रिकभरिङ नेपालका केन्द्रीय सदस्य केशव पुन,लागुऔषध दुर्ब्यसनकाे क्षेत्रमा काम गर्दै आएको आशा फाउन्डेसनका माेहन पाण्डे,आस्था समुहका सुमित कार्की, आशा ज्याेतिकी कृतिका जाेशीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
नेपाल सरकार,ग्लोबल फण्ड मार्फत युएनडिपीकाे सहयोगमा रिकभरिङ नेपालकाे आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।








