बाजुरा,८ साउन ।
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ क्युडीकी ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेका छन् ।

जिल्लाकाे क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयतर्फ जादै गरेका यात्रुहरू बोकेको उक्त जिपमा क्षमताभन्दा बढी यात्रु चढेका कारण कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।