बुटवल,६ साउन ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा नेपाली काँग्रेसले रुपन्देहीमा विविध कार्यक्रम गरेको छ । बीपी स्मृति दिवसको अवसरमा मंगलबार नेपाली काँग्रेसले रुपन्देहीले बृक्षरोपण, बीपीको शालिकमा माल्यार्पण तथा अनाथ सहयोगापेक्षीलाई खाना खुवाएर मनाएको हो ।

नेपाली काँग्रेस रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ स्थित करहीया सामुदायिक बनमा बृक्षरोपण गरिएको हो । उक्त बनमा टिक लगायतका विभिन्न प्रजातीका बनस्पतीका ५ सय बिरुवा रोपिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए ।

साे कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय अब्दुल रज्जाक र गंगा शाहीले बीपीले बोकेका बिचार, सिद्धान्त र आदर्श पार्टीका लागि मात्रै नभएर सिंगो समाजका लागि अनुकरणीय रहेको बताए । बीपी स्मृति दिवसमा हरेक वर्ष नेपाली काँग्रेसले बृक्षरोपण कार्यक्रम गर्दै आएको छ । बोट बिरुवा मानव जीवनका लागि अति उपयोगी हुनुका साथै वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि पनि बीपीको स्मृतिमा पार्टीले हरेक वर्ष बृक्षरोपण कार्यक्रम गर्दै आएको सभापति खाणँले स्मरण गराए । रोपिएका विरुवाको बन उपभोक्ता समितिले संरक्षण गर्ने गरी व्यवस्थापन मिलाईएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्वसभापती रामचन्द्र ढकाल, कोषाध्यक्ष हरिप्रसाद अर्याल, सचिव हरि काफ्ले, तिलोत्तमा नगर समितिका सभापति तथा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हरिलाल पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए । त्यस अवसरमा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा नगर सभापति पाण्डेले रोपिएका बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बीपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बीपीको शालिकमा माल्यार्पण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ बीपी चोकमा रहेको बीपीको शालिकमा मंगलबार माल्यार्पण गरिएको नगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ ले मानव सेवा आश्रममा आश्रीत सहयोगापेक्षीलाई बिहानको खाना खुवाएको छ भने आश्रममा आवश्यक रहेको फ्रिज प्रदान गरिएको क्षेत्रीय सभापति सुशिल गुरुङ्ले बताए । त्यस्तैगरी नेपाली काँग्रेस क्षेत्र नं. २ ले अपरान्ह बुटवलमा बीपी स्मृति साहित्य साँझ कार्यक्रम अयोजना गरेको थियो । उक्त कार्यक्रममा यस क्षेत्रका साहित्यकारहरुले बीपीका बारेमा रचना गरिएका साहित्यिक सिर्जना प्रस्तुत गरेको क्षेत्रीय सभापति प्रजापाल गिरीले जानकारी दिए ।

राजनीतिका अलावा विपी काेइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि ठूलो याेगदान दिएको स्मरण गर्दै बीपी स्मृति साहित्य साँझ कार्यक्रम अयोजना गरिएकाे क्षेत्रीय सचिव बिमलराज भट्टराईले बताए ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । उनको २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता कोइराला २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री भए ।

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्री रहदा उनलेे बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

नेपाली साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका बीपीलाई साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रुपमा पनि स्मरण गरिन्छ ।

विस २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिको आडमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वाचित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी ज्यान मुद्दाको पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थियो ।