कास्की,५ साउन ।
कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको साउन ४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत रहेको निर्देशनालयले जनाएको छ ।
उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय गण्डकी प्रदेशमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछिकाे पहिलो घटना हो ।








