काठमाडौँ,५ साउन ।
आज साउन महिनाको पहिलो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।

पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा लामवद्ध भएका थिए ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

आज काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

उता,पाल्पाको सिद्वबाबा,रूपन्देहीको सैनामैना स्थित पर्राेहा परमेश्वर बाेलबम धाम,मुक्तिनाथ धाम,निलकण्ठ बाबा धामलगायतका शिवालय मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउने भक्तजनले निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।

धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा आज पहिलो सोमबारदेखि यस्तो सुविधा दिन थालिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए ।

सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको हाे । अन्य दुईवटा बस यातायात व्यवसायी महासंघले व्यवस्था गरेको हो ।

बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइएको कोषले जनाएको छ । आज बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ ।

मूल मन्दिरमा भीड नहुने गरी कोषले दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामै दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरिएको छ ।

भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ ।