बुटवल,४ साउन ।
रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य पदकाे उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार एक प्रेस विज्ञप्तिमार्फत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित हुनेछ ।

असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने आयोगले जनाएको छ । प्राप्त उजुरी तथा मनोनयन सम्बन्धी जाँचबुझ कार्य सोही दिनदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ । असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने छन् । नाम फिर्ताको समय सकिएपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिनेछ । सोही दिन दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयाेगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार कार्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्द सूचीमा नाम समावेश भएकाले उम्मेदवार दिन नपाइने कानुनी व्यवस्था रहेको पनि आयोगले स्मरण गराएको छ ।