दाङ,४ साउन ।
दाङ लमहीमा आफ्नै गाडी पछाडि गुडेर च्यापिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका छन् ।

आइतबार बिहान ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा लगाएको ओट (ढुंगा) हटाउने क्रममा गाडी पछाडि गुडेर उनी च्यापिएका थिए ।

गाडीले च्यापेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा आज बिहान ६:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।