तनहुँ,३ साउन ।
तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन स्वरूप रकम उपलब्ध गराइएको पालिकाले जनाएको छ ।
पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको पालिकाकाे भनाइ छ ।
कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए । गाउँपालिकाका सात वटा वडा कार्यालयमध्ये गत आवमा १ देखि ४ नम्बर वडाका २७५ जना हलगोरु पाल्ने कृषकलाई ११ लाख रूपयाँ अनुदान उपलब्ध गराएको उनलेे बताए ।
उनका अनुसार आव २०८२/०८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिने योजना रहेकाे पनि उनलेे जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताए ।
प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषकको संख्या बढ्दै गएको भन्दै उनलेे गाेरु पाल्ने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने प्रबृत्ति पनि कम हुँदै गएको उल्लेख गरे ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिने गरिएको बताए । अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ ।








