काठमाडौ,२ साउन ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नभएको बताएका छन् ।

भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने उनको भनाइ छ ।

शुक्रबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सकृय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रोपटक राषट्रपति बनाइएको बताए ।

बैठकमा सहभागी एक सदस्यले दिएको जानकारीअनुसार भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताएका थिए ।

कसैले उचालेका आधारमा उहाँ सकृय राजनीतिमा आउनु हुँदैन भन्ने आफ्नो व्यक्तिगत धारणा भएको भन्दै अध्यक्ष ओलीले सदस्यताको बिषयमा पार्टी कमिटीमा विधिसम्मत छलफल गरेर निर्णय गर्ने बताए ।

पुर्व राष्ट्रपति सकृय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको बताउदै ओलीले सकृय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको टिप्पणी गरे ।

पार्टीकाे विधानका बारेमा नानाथरी धारणा राख्दै हिड्नेहरूकाे बारेमा पार्टी पद्धति र प्रकृयाका विषयमा पार्टीभित्र छलफल हुने भन्दै अध्यक्ष ओलीले पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको बताए ।