काठमाडौं,१ साउन ।
सरकारी तथा सार्वजनिक निकायमा भए गरेका काम कारबाही सम्बन्धि सूचना अब अनलाईनमार्फत उपलब्ध हुने भएको छ ।
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए गरेका काम कारबाही सम्बन्धि सूचना बिहीवारदेखि अनलाईनमार्फत उपलब्ध गराउन प्रारम्भ गरेको हो ।
बिहीवार आयोगले पत्रकार सम्मेलनको आयोजना गर्दै आरटिआई म्यानेजमेण्ट सिस्टमलाई अनलाईन प्रणालीमार्फत उपलब्ध गराउन शुरु गरिएको जानकारी गराएको हो ।
आयोगका सूचना आयुक्त एवं प्रवक्ता गगन बिष्टले पहिलो चरणमा संघीय सरकारका मन्त्रालय, संवैधानिक आयोग, विभाग र विभागस्तरका सूचना अनलाइमार्फत माग गर्न सकिने र सूचना उपलब्ध नगराएको खण्डमा अनलाईनमार्फत नै पुनरावेदन दिन सकिने व्यवस्था मिलाइएको बताए ।
उनकाअनुसार उक्त प्रणालीलाई क्रमशः तीन तहको सरकार र देशव्यापी रुपमा लागू गर्ने आयोगको योजना छ । सूचना प्रवाहमा उदासिन रहने सार्वजनिक निकायमाथि निगरानी र कारबाही प्रक्रिया समेत तिब्र बनाएको भन्दै उनलेे आर्थिक वर्ष २०८१/०८२ मा १०५३ वटा सूचना पुनरावेदन मुद्दा दर्ता भएको जानकारी दिए ।
आयोगका अनुसार सात दिनभित्र सूचना दिन ४५३ वटा आदेश जारी भएको छ । त्यस अवधीमा ७०९ वटा मुद्दा फछ्र्यौट गरिएको पनि प्रवक्ता बिष्टले बताए । सार्वजनिक निकायका प्रमुखहरूले मनासिव कारण विना सूचना नदिएको भन्दै कारबाही किन नगर्ने भनी २३ वटा आदेश जारी गरिएको पनि उनले बताए ।






