काठमाडौँ,१ साउन ।
आज पनि देशभरकाे माैसम सामान्य बदली भई बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही भागमा हावाहुरीको जोखिम रहेको समेत महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा वर्षाका कारण बाढी, पहिरो, भू-क्षय र गेग्रान बहावको जोखिम रहेको जनाएको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना, साना ठूला नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, यातायात र उडान प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हाल देशभर मनसुनी वायु सक्रिय रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।