काठमाडौँ,३२ असार ।
आज पनि देशभरकाे माैसम साधरणतया बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति पनि देशभरकाे माैसम आंशिक देखि साधरणतया बदली भई कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक तगारी गर्न महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ ।

जसको प्रभावले हाल देशभरकाे माैसम आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।