काठमाडौं,३१ असार ।
घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता बिवादमा तानिएका थिए ।

सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

साथै एमालेका नेता राजन भट्टराईलगायतले पनि मन्त्री गुप्तालाई हटाउन माग गरेका थिए ।

गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन् ।

राजीनामा दिदै मन्त्री गुप्ताले भनेका छन्-

“बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्समाननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहि पनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्म बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’