सुनसरी,३० असार ।
सुनसरीमा मध्येराति भिनाजुकाे गाेली प्रहारबाट सालीकाे मृत्यु भएको छ ।
जिल्लाकाे हरिनगर गाउँपालिका–६ घर भएकी १७ वर्षीया अर्जना खातनुको गएराति आफ्नै भिनाजुले गोली हानी हत्या गरेकाे प्रहरीले जनाएको छ ।
भारतको अररिया घर भएका ३५ वर्षीय आजात मियाँले साली अर्चनाको गोली हानी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
मियाँकाे पृष्ठभूमी नै आपराधिक खालको भएकोसमेत प्रहरीले जनाएको छ ।
घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए । भारतको अररीया जिल्ला घर भएका भिनाजु रातिराति मात्रै सालीहरु भएको ठाउँमा आउने गरेको र हिजो पनि राति आएर उनले सालीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
१७ वर्षीया अर्चना खातुनलाई पछाडिबाट गोली हान्दा घटनास्थलमै मृत्यु भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए ।
आपराधिक पृष्ठभूमिका आजाद मियाँ विरुद्ध भारतमा पनि चोरीलगायतका कैयौं अपराधमा संलग्न भएको अभियोग छ । भारतीय प्रहरीले समेत खोजी कार्य गरिरहेका उनी नेपालमा लुकीछिपी बसेको पाइएकाे प्रहरीले जनाएको छ ।
घटनापछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएको छ । घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न मियाँ फरार रहेका छन् । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा मियाँकाे खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।








