काठमाडौ,२९ असार ।
क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि अब निःशुल्क उपलब्ध हुने भएको छ ।
साे सेवा हाल नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेप नेपाल आइपुगेको हो । त्यस्ता औषधि अब सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुनेछ ।
वन हर्ट वर्ल्डवाइड संस्थामार्फत डाइरेक्ट रिलिफले नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थमन्त्री प्रदिप पौडेलले लामो मेहनतपछि औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न सफलता प्राप्त गरेको बताए ।
डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधि नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरूप उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिए ।
‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने, ‘राज्यको लगानीविना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’
हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अरू आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।
‘सूची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको जानकारी दिए ।
सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको भन्दै मन्त्री पौडेलले यस्ता जानकारी प्राथमिकताका साथ प्रचारप्रसार गरेर सहयोग गरिदिन सञ्चारमाध्यमलाई आग्रह समेत गरे ।
आगामी ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले जानकारी दिए ।








